मेरो यात्रा: कथा मान्छे अनि अरुहरुका (भाग २)
|नेपालमा बसको यात्राको आफ्नै स्वाद छ। यो आलेख अघिल्लोको निरन्तरता हो। भावनाका लहरहरु कहाँ रोकिन्छन र, यी त चलिरहन्छन, यात्राजस्तै। कति लेखिन्छन, कति मनभित्रै सुन्दर बगैँचा बनेर झ्याङ्गिन्छन, चुपचाप। अघिल्लो भाग यो लिंकमा भेटिनेछ ।
र फेरी पनि म बसमा बाहिर हेर्दै । बस गुडेसँगै बाहिरका नयाँ नयाँ दृष्य र परिघटना हेर्दैछु, एक अमुक साक्षीजस्तै ।
बस अलि अघि बढेपछि देखियो सानो बस्ती। सडकको छेवैको घरको आँगन सफासँग लिपिएको थियो, र मध्य दिउसोको चहकमा निकै राम्रो र ताजा देखिएको थियो। कुनै गुन्द्री नओछ्याई सिधै एउटा तन्ना ओछ्याइएको थियो। यसो सोचें, गुन्द्रीमाथि तन्ना ओछ्याएको भए पनि धोइहाल्नु पर्दैनथ्यो, तर फेरी मनमनै भनें “जेसुकै होस् हौ, मैले धुनु पर्ने होइन क्यारे।” त्यो तन्नामा थिए चार जना जल्दाबल्दा युवाहरु, तास खेल्दै। यो दशैंतिहार शुरु हुनु निकै अघि र खेतीपातीको मुख्य समयको दृश्य हो। अरुहरु तत्कालीन राजनैतिक विषयमा गफिँदै थिए।
हातमा तीन बुक तासको गड्डी लिनेले चैँ “…. अठार, अठार, अठार अठार ….उन्नाइस, उन्नाइस, उन्नाइस, उन्नाइस….” भन्दै बढो लगावका साथ बाँड्दै थियो र बाँड्दा तास संगसंगै निहुरिंदै बाँडेको भागसम्मै जिउ लच्काउँदै थियो। बाँढिसकेर पिच्च भोला थुक्यो र बल्ल बोल्न मिलेकाले साथीहरुको कुरामा थप्यो “यो साला देश बिग्रेकै नेता खराब भएर हो”। उसकी श्रीमती एक डंगुर लुगा धुँदै थिई, र चापाकल पेल्दा निस्केको चुइँ चुइँ आवाजले गर्दा त्यो अभागी स्त्री आफ्नो लोग्नेको त्यो महानवाणी सुन्नबाट वन्चित रही।
बस्तीको अलि पर विद्यालय वा सो सरहको खुल्ला चौर भएको कुनै लामो भवन देखियो। त्यो खासमा विद्यालय नै हुनसक्छ तर यसलाई “विद्यालय वा सो सरह” किन भनियो भने त्यहाँ पढाई हुनुपर्ने मध्य दिउसोको समयमा ज्ञानका भन्दा यौनका भोका देखिने किशोरकिशोरी पार्श्वमा बजिरहेको “तुम्हारे चुनरिया “ र त्यस्तै केही अश्लील भोजपुरी गीतमा कुत्कुतिंदै यताउता घुमिरहेका थिए। साँझ कुनै नाचगान वा (अ)सांस्कृतिक कार्यक्रम रहेको हुनुपर्छ। मन्चको पछाडी नर्तकीजस्ती भंगीमाकी एक युवतीले हतारहतार लुगा बदल्दै थिई। कम्मरमा कुनै झल्लरी जोडिएको तर तिघ्रा टिपिक्क परेको सुरुवाल थियो। थप कामुक देखिने उदेश्यले सितारा जोडिएको स्तनावरक लघुवस्त्र पहिरिंदै थिई।
मन्चको नजिकै एउटा किलोमा लामो डोरीले बाँधिएको एउटा भैंसी चरिरहेको थियो। त्यो उत्तेजक पहिरनकी युवती वा अश्लील गीतको कुनै पर्वाह नराखी भैंसीले ठुलै रास गोब्र्याउँदै चरिरही। किनकी नग्न भंगीमाहरुले भैंसीहरुलाई उत्तेजित पार्दैनन्।
मैले एकाएक उहाँलाई सम्झें। बाँधिएकाहरुकै बारेमा कुरा भएको थियो एकदिन।
मैले भनेको थिएँ, “सृष्टिकर्ताले सबैलाई बराबरीकै हिसाबले सृजना गरेको होला, तर हामी भने बेलगाम छौँ तर कोही भने किन कसैको सम्पतिको रुपमा बाँधिएर बाँच्न वाध्य छन ?”
हरेक बाँधिनेहरुकाबारे उहाँका आफ्नै तर्क छन।
“त्यो डोरी, त्यो बँधाई त तिनीहरुकै हितको लागि पो हो त। त्यो डोरीले सुरक्षाको काम गर्छ। त्यो डोरी नहोस् त यी भैंसी सिधै बाघको शिकार बन्नेछन”। यति भनिसकेर बढो परोपकारी भावको एउटा उज्यालो चमक उतार्नु भो अनुहारमा, र मतिर एक जिताहा नजरले हेर्दै मुसुक्क हाँस्नु भो।
मैले उहाँलाई थप प्रश्न गरिनँ, गर्नै मन लागेन। कहिलेकाहीं मनभरी प्रश्नैप्रश्न भए पनि प्रश्नहीन भइने रहेछ, भाव शुन्य भइने रहेछ।
बस्ती छोडेर बस फेरी जंगलको बाटो अघि बढ्यो। त्यो चर्चित चार कोषे जंगल निकै पातलो देखियो,दयालाग्दो गरी।
मैले छेउमा बसेका बुढालाई सोधें “यो त राजमार्गको छेउमा भएकोले होला, भित्र कस्तो छ?
तिनले भने “उस्तै छ। कुछ बाँकी छैन, बाबु।”
मैले राम्रो बुझिनँ तर तिनी भन्दै गए “कुछ नौक्री छैन, कुछ विकास भी आउन दिन्नन्, भन्छन पेड बचवाउनु पर्छ, लेकिन जंगल पनि खत्तम भैगो। और भुखे जानवर वोही हम्रो खेतीमा आउन्छन, बाबु। ”
त्यस्तै अरु थप के के भने र असहाय भाव पोतिएको अनुहार लिएर बुढा पर हेर्न थाले।
अझै अघि बढेपछि बाटो छेवैमा करंगका भाटा देखिने एक हुल बाँदर देखिए। ति बस्ती र किसानको बालीबाट पर बस्छन। जंगलमा केही कन्दमुल बाँकी छैन त्यसैले ति राजमार्गतिर आउने रहेछन। राजमार्गको त्यो खण्डमा गाडीहरु शौचकर्मको लागि रोकिने रहेछन र शहरबाट सभ्यता सिकेर गाउँ फर्किंदै गरेका यात्रुले फालेका चाउचाउ आदिका खोल, फलफूलका बोक्राको लागि ति कुद्ने रहेछन।
बाँदरको त्यो झुण्डमा हरेक प्रकारका थिए। रुग्ण, रोगी, निकै बुढा, आफैं कुद्ने तर निकै साना, र कुनै चैँ आमाका छातीमा बोकिएर हिंड्नेहरु। एउटा निक्कै सानोको खुट्टा भाँचिएको रहेछ। अघिल्लो हप्ताको कुरा हो, बत्तिएर आएको मोटरसाइकलबाट बचेर कुद्दाकुद्दै पनि उसको अगाडीको देब्रे खुट्टो कसो कसो चक्कामुनि परिहाल्यो। कट्याक्क आवाजै आउने गरी त्यसको हाड भाँचियो। भुतुक्कै भयो। पीडाले भुमरिंदै छेउको पिल्लर नजिक पुग्यो, क्वाँक्वाँ गरिरह्यो, तर पीडा यति असह्य थियो कि आवाज बाहिरसम्म पनि फुस्किन सकेन। केवल मुख खुल्दै बन्द हुँदै गरिरह्यो। झुण्डका अरुहरु त्रसित हुँदै उसलाई हेरे, पर बसेर। नजिक जान खोज्थे अनि फेरी सबै एकै ठाउँमा फ्रिज हुन्थे, बेला बेला उ नचल्मलाई मरणासन्न लम्पसार पर्दा फेरी नजिक आउंथे, चल्न थालेपछि फेरी पल्याक पुलुक हेर्दै पछि हट्थे। यो प्रक्रिया निकैबेर चलिरह्यो। त्यही बिचमा अर्को’गाडी रोकियो, र त्यसलाई चटक्कै छोडेर सबै गाडीतिर लागे आफ्नो जोहो गर्न। उ बिस्तारै कतिबेला घस्रिंदैघस्रिंदै उ सधैं लुक्ने त्यो बनमाराको झाडीमा गयो।
त्यसदिनको चोट बल्झिएर त्यो खुट्टो छाताको डन्डीजस्तो घुम्रिएको छ। टेक्न पनि मिल्दैन। तीनवटामात्र खुट्टाले गर्दा सन्तुलन मिल्दैन। सधैं अरुले उछिन्छ्न र गाडीबाट फालिएका कुरा उ कमै पाउँछ र अक्सर भोकै रहन्छ।
एकदिन एउटा हाँगोबाट अर्कोमा हाम फाल्न खोज्यो। “ए आमा, ल हेर त, अझै पनि सक्छु” भन्ने भावले आमालाई हेर्यो। तर उसकी आमालाई हेक्का छ उसको शरीरको। उसको बच्चो हाम फाल्नै लाग्दा, बुढी बाँदर्नी बढो बेचैनीसँग काखीमुनि कन्याई, एउटा जुम्रा भेटी र किटिक्क टोकी। ऊ तनाव हुँदा प्राय यसै गर्छे। अलिकतिले गर्दा अर्को हाँगो समात्न सकेन, र बेस्सरी बजारियो, डंग्रंग, शरीरका सबै हड्डी फुस्के जस्तो भयो।
उसको चाउरी परेको शिशु अनुहारबिचका दीनहीन आँखा आँसुले टिलपिल भइसकेका थिए। तर आमातिर हेर्दै म ठिक छु जस्तो देखाउन जबरजस्ती एकपटक मुस्कायो र बेस्सरी दुखेको जिउ बोकेर कुद्दै बनमाराको त्यही झाडीमा गयो र निकैबेर रोयो। बिस्तारै दुखाई कम त भयो तर पेट भोकै थियो, त्यसैले उही शिलशिला शुरु भयो, फेरी सडकतिर निस्क्यो, कसैले केही फाल्छन कि भन्ने आशा गर्दै।
गाडी अब जंगल कटेर खुल्ला आकाशमुनि पुग्यो निकै फराकिलो र सुख्खा-प्राय खोला माथिको पुलतर्फ।
पुलको दक्षिणतिर दाहसंस्कार गर्ने ठाउँ रहेछ। मलामीहरुले शवलाई तयारी गर्दै थिए। तिरमा पुलको मुखै नजिक केही झुपडी पसलहरु थिए। नजिकै एउटाले दाउरा बेच्ने रहेछ। आफन्तहरु मोलमोलाईमा निकैबेर गलफत्ती गरिरहे, शव बेखबर बगरमा पसारिइरह्यो। मोलतोल मिलेपछि शवदहन क्रिया शुरु भयो। छोराले दागबत्ती दिए, बुढाको शरीर बिस्तारै छाती क्षेत्रबाट जल्न शुरु भयो, र गोडातिरको दाउरा रापिलो हुँदै गयो। कम्मरतिर जल्दै गरेको काठ कसो कसो सर्क्यो र शवको दाहिने हात दाउराको चांगबाट तल झर्यो। नजिकै उसको नाति थियो, फोन खेलाएर बस्दै। उसले आफ्नो सामाजिक सञ्जालमा राखेका फोटामा कतिवटा RIP लेखिए भनेर फोन हेरिरहेको हुन्थ्यो। कसोकसो लत्रेको शवमा उसका आँखा गए, उसले देख्यो हजुरबाको औंलामा एउटा सानो सुनको औंठी अझै बाँकी रहेछ निकाल्न। हतपत शवतिर लम्क्यो र भन्यो “ लौ यो त निकाल्नै छुटेछ” अनि निर्वस्त्र पारिएको मृत हजुरबाको औंलाबाट निकाल्यो र बगलीमा हाल्यो। औंठी तान्दा अलि बल गर्न पर्यो उसले, हात मिलाएजस्तै गर्नु पर्यो। ति चाउरिएका खस्रा हत्केला तिनै थिए जसले उसलाई हिंड्न सिक्दै गर्दा च्याप्प समातेर चोकसम्म डोहोर्याउँथे र चोकोफन किनिदिन्थे। उसका विद्वान बा आमा दुबै कलेजका प्रोफेसर थिए र अक्सर बाहिरै रहन्थे। र त उसको अक्सर समय हजुरबासंगै बित्ने गर्थे। कति प्यारा थिए ति हातहरु त्यतिबेला, औंलाहरु प्रेम र भरोसाका प्रतिक थिए, तर उसलाई ति कुनै कुरा याद आएन। त्यो स्पर्शको याद आएन। र यो बिचमा उनलाई बुढ्यौलीले चिथोरेर तिनै औंला कसरी कंकालजस्तै भएका थिए त्यसमा पनि ध्यान गएन। उसका आँखा त एकलव्यको निशाना जस्तै भएका थिए औंठीमा र झिकेपछि उसैगरी उ फोनमा व्यस्त भयो।
र पर क्षितिजमा, बगरको अन्त्यतिर मर्दै गरेका रुखका पछाडी सूर्य अस्ताउँदै थियो। धुँवाको मुस्लोले मलिनो सूर्यलाई झन छेक्यो। यसरी एकातिर अस्ताउँदो घामलाई साक्षी राख्दै कुनै वृद्दको कथा अस्ताएको थियो।
पुलको उत्तरपट्टी भने किशोरकिशोरीको एक हुल कुनै जन्मदिनको उत्सवको लागि तयारी गर्दै रहेछन। पिपलको ठुलो रुखलाई बिचमा पारेर एउटा हरियो दुबोसहितको ठुलो चौरमा जम्मा भएका थिए। कोही ठाउँ सजाउँदै थिए। अरु बियरका केस गाडीबाट ओसार्दै थिए। एकएक कथा बोकेका ति हरेक किशोरकिशोरी आज फेरी अर्को कथा थप्न जोडतोडका साथ लागेका थिए, स्पिकरमा ठुलो आवाजमा बज्दै थियो “अभि तोह पर्टी शुरु हुइ है”।
हुनसक्छ केही बेरमा मलामी र तिनीहरु सँगसँगैजस्तो अघि पछि आ-आफ्ना गाडीमा घरतर्फ लाग्नेछन तर जीवनकथाको बिल्कुल भिन्न मनोदशा बोकेर।
(लेख समाप्त, तर यात्रा जारी…)
Twitter: @SharmaNeu
यो स्रृखला बनोस् र नया नया यात्राको यस्तै यात्राबृतान्त आईरहोस् प्रकासनमा!