बसको यात्रामा पाइने सन्देश !


केही समय पहिलेको कुरा हो- काम बिशेषले वीरगन्ज जानुपरेकाले बिहान करीब ७:३० बजे गंगबु बसपार्कबाट बस चढें । साथीभाइसँग यात्रा गर्दा त एक अर्काको गफमा बाटो कटेको पत्तै हुँदैन तर एक्लै यात्रा गर्दा भने पट्यारलाग्दै हुन्छ । झ्यालबाट बाहिर देखिने अनेक दृश्यहरु नौला थिएनन् । त्यसैले समय कटाउने अनेक उपाय सोच्दै थिएँ कि थानकोट पुग्ने बेलामा एउटा ट्रक पछाडिको सन्देशमा आँखा ठोक्कियो ।

“दुल्हन सजी है बाराती कोइ नही
सफर है लम्बा साथी कोइ नही ।”

ठ्याक्कै मेरै अवस्था चित्रित भएको महसूस् गरें । हुन त मानिस जन्मिन्छ पनि एक्लै र परलोक पनि हुन्छ एक्लै । यी दुई बिन्दुबिच साथी सम्बन्ध र नातागोता चाहिने सायद बाँच्नलाई होला ! मानिस एक्लै पनि त बाँचेकै छन् । गौतम बुद्धलाई ज्ञान आर्जन गर्न कोही चाहिएन । शिखर चढ्नेहरू पनि एक्ला एक्लै सगरमाथा चढिरहेकै छन् । भिडभाड र हल्ला-खल्लाले वाक्क भएर होला मानिस एकान्त नै रोज्छ ।

होहल्ला र एक आर्काको गफमा मस्त भईरहेका बसका अन्य यात्रहरुले घेरियता पनि एक्लोपनको महत्वको खोजिमा हराईरहेको म बसको अचानकको कर्कश हर्नले झस्कन पुग्छु । अगाडिको गाडीको आवाज दिनुस् भन्ने सन्देशको तालमा ताल मिलाएका होलान गुरुजीले ।

बसका मालिक हुन् वा तिनका कर्मचारी/कन्‍डक्टर,उनी नयाँ यात्रुहरूसँग भाडा लिन व्यस्त छन् । यात्रीहरूसँग उनको भाडाको विषयमा तलमाथि भैइरहेको छ । आफ्नो गन्तब्यमा पुर्‍याईदिए बापतको मोल त तिर्नै पर्छ । सायद कन्‍डक्टर पनि आफ्नै लयले एउटा गाडीकोमा लेखिएको अर्को सन्देशमा झैं अनुरोध गर्दैछन्-
“फूल हो गुलाबको बास्ना लिने गर
गाडी हो साहूको भाडा दिने गर ।”

भाडाको बिषयलाई लिएर एक यात्रुसँग झडप हुन्छ उनको । गाडिको परिचारक अर्थात् खलासी भन्छौं हामी, ऊ पनि पाखुरा बटार्दै अगाडी सर्छ । पल्टने गालीको बर्षा शुरु हुन्छ ।

एक समझदार बृध्दको बाणिले यो व्दन्दको वातावरण शान्त हुन्छ । म यी दृश्यहरु मूकदर्शक भएर हेर्छु । अर्को सन्देशबाहक गाडी हामीलाई उछिन्दै अगाडि बढ्छ । म त्यसतर्फ कन्‍डक्टरको ध्यानआकर्षित गर्छु | सन्देशमा लेखिएको थियो-

“तमिज से बोलो इज्जत मुफ्त में मिलेगी ।”

ऊ सहमती जनाउँछ तर उस्को मर्म बुझ्न अनुरोध गर्छ । यात्रामा थरिथरिका मान्छे भेट भएपनि भाडाको लागि सधैं कचकचले दिनहरु एकनासे हुनलागे । यी घम्साघम्सी उस्का लागि नौला होइनन् । के गर्ने र ? सबैभन्दा ठिक्कको लागि बचावट भन्ने सिद्नान्त अनुरूप ऊ चलेको देखिन्छ । एवम् रीतले बाटो काटिंदै जान्छ । कति सन्देश पढ्नै नपाई गाडी घुइकिन्छन्। मलाई दुःख लाग्छ, सन्देश पढ्न नपाई छुटेकोमा ।

बसको यात्राहरूमा मेरा आँखा यस्ता सन्देशका लागि सदैब छटपटी रहन्छन् ।

“आजबाट तिमीले पिउन सिकाइ दियौ
मनभित्रको कलिलो घाउमा काँढा बिझाइ दियौ।”

यो सन्देशबाहक मोटरलाई उछिन्न हाम्रा चालक उचित मौकाको खोजिमा छन् । सन्देशपढेपछि म कल्पनामा डुब्न पुग्छु । सन्देशकर्ताको भावना र पिडाबारे गहराइमा डुबुल्की मार्ने जमर्को गर्छु । प्रेमिकासँगको बिछोडको बेदनाको उपज हुनुपर्छ यो सन्देश । सबै चाहेका ईच्छा,आकाँक्षा र सपनाहरु कहाँ पुरा हुन्छन् र ? मायालुले मुटुमा काँडा बिझाउँदैमा अमुल्य जीवनलाई मदिराको साहरामा डुबाउनु कत्तिको हिम्मतिलो काम हो त ? म यस्ता सोमरस पान गर्न अनेक बाहना खोज्ने बार्‍हमासेहरूको तारिफ नै त गर्न सक्दिन तर ती निष्ठुरी मायालुलाई भने एक पटक सोच्न आग्रह गर्छु । अचानक ब्रेक लगाउँदा आएको टायरको काहलीलाग्दो आवाज र बसको गती रोकिंदाको झड्काले म सम्हालिन खोज्दै वास्तविकतामा फर्कन्छु । सडकको बिचमा नै केही अगाडि बिग्रीएर रहेको ट्रकले गर्दा चालकले यो उपाय लगाउनु परेको रहेछ । त्यहाँ पनि कुनै सन्देश पो छ कि भनेर म नियाल्छु ।

“मानिसको जिन्दगी बिस्कुट र केकमा
ड्राइबरको जिन्दगी ह्यन्डिल र ब्रेकमा ।”

बाँच्नलाई खाना नभए भोकलाई मार्न नसकेजस्तै गाडीमा ब्रेक नभएकोभए जिन्दगी सम्हाल्न सकिंदैनथ्यो होला | मलाई यस्तै भान भईरहेथ्यो भने हाम्रा चालक महोदय भने पसिना पुछ्दै बिश्वकर्मा बाबाको प्रतिमुर्तिलाई ढोग्दै थिए । शायद भगवानले उनको र अन्य यात्रीको कुशलतासहित जीवन बिक्सस् अर्थात् उपहार दिएवापतको धन्यवाद होला । केही बेरपछि गाडी गन्तव्य तर्फ अगाडि बढ्यो ।

हामी यस्तै अकस्मातका घटना एक आपसमा साटासाट गर्न थाल्यौं । बाटो काटिंदै थियो, हामी एक अर्काका पारीवारिक र भावना सम्बन्धी कुरा गरिरहेक थियौं । ड्राइभर महोदय एक गाडीको सन्देश झैं आफ्नो कुरा भन्न हिच्किचाई रहेका थिए ।

“नसोध मेरो ठेगाना झुप्रैझुप्राले भरिएको छ
नसोध मेरो बेदना चोटै चोटले भरिएको छ।”

बाटो एबंरितले काटिंदै जाँदा हेटौंडा पुगेको पत्तै भएनछ । चालक महोदयले उनीसँगै चिया पिउन गरेको अनुरोधलाई नकार्न सकिएन । पसलमा चिया पिउन बस्दा अचानक मेरो नजर अर्को एक सन्देशमा पर्छ ।

“पैसा गया पसिना गया और गया व्यापार
दर्शन दुर्लभ हो गया जबसे दिया उधार ।”

उक्त सन्देशले व्यापारी वर्गको बास्तबिक मर्मलाई छिचोल्छ । बेइमान मानिसहरुले उधारो खाएर पैसा नतिरी गायब हुँदा उस्को मेहनत र पसिनाले सजाएको व्यापार चौपट बन्छ । साहुजीले म सन्देशमा घोत्लिएको देखेर उनले कुनै गाडीको पछाडिबाट आफ्नो वास्तविकता झल्कने देखेर टिपेको जानकारी दिए । चिया पिईसकेपछि केही यात्री थप्दै बस पुनः राजमार्ग मा दौडिन थाल्यो ।

हेटौंडा बसपार्कबाट गुडेको बस चुरिया माई मन्दिर पुग्दा नपुग्दै एक चितवनबासी सहयात्रीले परिचय गरे । साधारण परिचयपछि उनी आफ्ना सोध र कार्यकौशलबारे बखान गर्न लागे । उनका कुरा सुन्दा लाग्थ्यो कि उनीभन्दा बुझक्की यस देशमा अरु कोही नै छैन । आफूमात्र सही र अरु सब गलत भएको निचोड थियो उनको । सारा विकृति र विसंगतिको दोष आजका नेतालाई दिन चुकेनन् उनी । उनको आषय हामीलाई उछिनेर गएको ट्रकको पछाडि लेखिएको सन्देशजस्तो थियो ।

“बाप परेशान बेटा से
देश परेशान नेता से ।”

ती महाशयको बोलिचाली र ठाँट-रवाफ देखेर लाग्दथ्यो कि उनीभन्दा ठूला नेता त यो दुनियाँमा नै कोही छँदैछैनन् । तैपनि बाटो कट्दै गएकोमा म खुशी नै थिएँ । साँझको साँढे पाँच बज्दो हो, बसले वीरगंज ओर्‍हाल्दियो । म रिक्सा चढेर आफ्नो होटेलतर्फ जाँदै थिएँ कि रक्सौल नाकातिरबाट एउटा मालबाहक ट्रक अगाडि आयो । त्यस ट्रकको पछाडिको सन्देश हेर्न म पुर्लुक्क फर्कें । मलाई त बानी पेरिसकेछ, कुनै पनि गाडी देख्दा त्यस्मा लेखिएको सन्देश पढ्ने । म दंग थिएँ बाटो कटाउने एउटा उत्तम र आफ्नै शैलीको उपाय भेटिएकोमा ।

यो संस्मरण आजभन्दा निक्कै पहिले हात-हातमा मोबाईल/स्मार्ट फोनहरू हुनुभन्दा पहिलेको समयको सन्दर्भको हो | मोबाइल फोनहरूको स्क्रिनमा घोसेमुन्टो लागाएर अबका यात्राहरूमा यस्ता अनुभुती गर्न कहाँ पाउनु र !

@cool_MrD

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *