गज़ल
|तिमी गयौ, मन शून्य छ
दुखेर आँगन शून्य छ
दुखेर आँगन शून्य छ
सहस्र दर्द छ देहमा
चलेन धड्कन शून्य छ
सताउँदै छ उजाडले
सजीव कानन शून्य छ
निसासिँदै छु पलापला
उडेर शोभन शून्य छ
निकास बन्द छ आँसुले
भिजेर लोचन शून्य छ
रिझेन दैव कसै गरी
पुकार साधन शून्य छ
चपाउँदै छ हताशले
फुरेन सिर्जन शून्य छ
लग्यो चुँडेर निष्ठुरले
रुँदै छ आसन शून्य छ
न बज्छ गीत न बाँसुरी
सितारवादन शून्य छ
लुट्यो सुशान्ति वियोगले
बढेर उल्झन शून्य छ
विदीर्ण भो मुटु बेसरी
समग्र चिन्तन शून्य छ
धुजा भए परिकल्पना
विरक्तले पन शून्य छ
थचारिए सपना सबै
तमाम वाञ्छन शून्य छ
अशान्त लाग्छ जताततै
निभेर रोशन शून्य छ
सदैव खोज्छु समीपमा
छ ठप्प जीवन शून्य छ
तालूङ छन्द
One Comment
यो सद्भावनापूर्ण साथकोलागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु l