समकालीन असमेली नेपाली कवितामा पर्यावरण चेत
|आमुख : प्रस्तुत लेखमा असमेली नेपाली कविहरूबाट सिर्जिएका कविताहरूमा पर्यावरण चेतले कतिको स्थान पाएको छ अथवा पर्यावरणप्रति कविहरूले के कस्ता कविताहरू लेखेका छन् यिनै विषयहरूमा नै केन्द्रित रहने यस लेख आमुख, समकालीन असमेली नेपाली कविता, कृतिभित्रका पर्यावरण चेतका कविताहरू, फेसबुकका पर्यावरण चेतका कविताहरू र निष्कर्ष यिनै पाँचवटा भागमा चर्चालाई अघिसारिने छ। हाम्रा कविहरूमा यस विषयको चेत कति के छ त्यसलाई पनि कोट्याउने प्रयास गरिनेछ।
समकालीन असमेली नेपाली कविता : पूर्वोत्तर भारतको नेपाली कविताको इतिहास कोट्याउँदा यसको थालनी मणिपुरबाट भएको पाइन्छ र आजसम्मको अनुसन्धानअनुसार मणिपुरका तुलाचन आलेलाई यस भेकका पहिला नेपाली कविको श्रेय जान्छ। उनले सन् १८९३ मा ‘’मणिपुरको लडाइँको सवाई’’ लेखेर यस क्षेत्रमा नेपाली कविताको बीजारोपण गरेका हुन् भन्ने विद्वानहरूको भनाइ छ। पूर्वोत्तर भारतको १२८ वर्ष नाघिसकेको नेपाली कविताको इतिहास पल्टाउनु हो भने यो लेख निकै लामो हुनेछ, तसर्थ सीमित कुराहरूलाई मात्रै चर्चामा ल्याउने प्रयास गर्नेछु।
पूर्वाञ्चलीय नेपाली कविताको विकासका इतिहासलाई साहित्यका विद्वानहरूले विभिन्न आधारमा काल विभाजन गरेको देखिन्छ। यी प्रमुख काल विभाजनहरू यस प्रकार छन् –
(१) कवि तथा समालोचक दुर्गाप्रसाद घिमिरेका अनुसार-
(क) पहिलो चरण, प्राथमिक काल : १८९३ देखि १९५९-६० सम्म
(ख) दोस्रो चरण, आधुनिक काल : १९६० देखि १९७९-८० सम्म
(ग) तेस्रो चरण, अत्याधुनिक काल : १९८० देखि यता।
(२) प्रा. डा. भीमकान्त उपाध्यायले आफ्नो आँखीझ्यालबाट हेदा (१९९४) पुस्तकमा यस भेकको नेपाली कवितालाई निम्नलिखित तीन चरणमा विभक्त गरेका छन् –
(क) पहिलो चरण : १८९३ देखि १९५० सम्म।
(ख) दोस्रो चरण : -सन् १९५१ देखि १९७२ सम्म।
(ग) तेस्रो चरण : -सन् १९७३ देखि १९९३ सम्म।
(३) गोविन्दसिंह रावतले पूर्वाञ्चल भारतको नेपाली कविता : एक सर्वेक्षण (१९८३) पुस्तकमा सम्पूर्ण एक शताब्दीको कविता यात्रालाई एउटा मात्र काल खण्ड सन् १९९३-१९८५ राखेर विवेचना गरेको पाइन्छ।
(४) डा. शान्ति थापाले असमेली नेपाली कविताको विकास यात्रालाई यसरी दुई कालखण्डमा काल विभाजित गरेकी छन् –
(क) स्वतन्त्रतापूर्व काल : -सन् १८९३ देखि १९४७ सम्म।
(ख) स्वतन्त्रताउत्तर काल : -सन् १९४८ देखि वर्तमानसम्म।
यसको अध्ययन र विश्लेषणको सुविधाका निम्ति उनले स्वतन्त्रताउत्तर काललाई अझ चार चरणणा विभक्त गरेकी छन्। यी हुन् –
(क) हरिभक्त कटुवालपूर्व : -सन् १९४८-१९४९
(ख) हरिभक्त युगीन : -सन् १९६०- १९७०
(ग) हरिभक्त कटुवाल उत्तर: -सन् १९७१-१९८०
(घ) समकालीन कविता : -सन् १९८१- २०१०
(५) वरिष्ठ कवि नवसापाकोटाले असमेली नेपाली कविता यात्रा (२०१३) पुस्तकमा पूर्वोत्तर भारतको नेपाली कविता विकासको अध्ययन र विश्लेषणका निम्ति सम्पूर्ण कालखण्डलाई निम्न प्रकारले बाँडेको पाइन्छ।
(क) प्रयास काल : सुरुदेखि -सन् १८९२ सम्म
(ख) स्वतन्त्रतापूर्व काल : -सन् १८९३ देखि १९४७ सम्म
(ग) कटुवालपूर्व काल : -सन् १९४८ देखि १९५१ सम्म
(घ) कटुवाल काल : -सन् १९६० देखि १९७९ सम्म
(ङ) कटुवालउत्तर काल : -सन् १९८० देखि १९९९ सम्म (समकालीन कविता काल)
(च) उत्तर आधुनिक काल : -सन् २००० यता
सन् २०२० मा कृष्णनील कार्कीको सम्पादनमा प्रकाशित ‘’समकालीन असमेली नेपाली कविता’’ सङ्कलनमा -सन् १९८० देखि वर्तमानसम्मको युगलाई समकालीन युग मानेर असमेली नेपाली कविताको युग विभाजन यसरी गरिएको छ-
(क) पहिलो चरण : -सन् १८९३ देखि १९५० सम्म
(ख) दोस्रो चरण : -सन् १९५१ देखि १९७२ सम्म
(ग) तेस्रो चरण : -सन् १९७३ देखि २००० सम्म
(घ) चौथो चरण : -सन् २००१ देखि वर्तमानसम्म (समकालीन युग)।
यस लेखको उद्देश्य समकालीन असमेली नेपाली कवितामा पर्यावरण चेतको खोजी हो, त्यसैले यहाँ समकालीन युगलाई छोटकरीमा चर्चामा ल्याउने प्रयास गरिने छ। सन् २००१ देखि वर्तमानसम्म असममा लगभग १५० वटा कविता कृति प्रकाशनमा आएका छन् । यसमा गीत, हाइकु, मुक्तक, खण्डकाव्य, महाकाव्य, लामा कविता, गजल सङ्ग्रहहरू ल्याएको छैन। त्यसरी नै सामूहिक कविता सङ्कलन पनि २५ वटा जति प्रकाशनमा आएका छन्। यस युगका कविहरूका कवितामा प्रगतिवाद सहितै राजनैतिक, सामाजिक, आर्थिक क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिप्रति आक्रोशपूर्ण व्यङ्ग्य, नारीवादी स्वरको अभिव्यञ्जना, नवीन शिल्पसौन्दर्यप्रतिको जागरुकता, सङ्केतात्मक एवम् प्रतीकात्मक प्रस्तुति र मनोवैज्ञानिकता, रोमान्टिकता, विश्वायन, समाजवाद, यथार्थवाद, राष्ट्रवाद, अस्तित्ववाद अनि उत्तरआधुनिकतावाद आदि प्रमुख प्रवृत्ति हुन्।
समकालीन असमेली नेपाली कवितामा प्रवृत्तिगत विभिन्नता पाइन्छ। असमेली कविताको फाँटमा अनेकौँ प्रयोगहरू भएको र कवितामा एक विधागत विविधता आएको छ। केवल पुस्तकहरू मात्रै नभएर अनेकौँ माध्यमबाट कवितालाई पाठकसम्म लैजाने हुँदा कवितामा पनि सङ्ख्यागत बढोत्तरी भएको देखिन्छ। नयाँ नयाँ प्रवृत्तिलाई प्रवेश गराउने कार्य पनि भएकै छ। अन्य विधाको तुलनामा कविता निकै मौलाएको देखिन्छ। जनताको आवाज, प्रकृतिको रक्षा, भूमण्डलीकरणको डरलाग्दो भुमरीको चेतावनी दिँदै नयाँ प्रतीक, बिम्ब, मिथक लिएर दगुरेको आजको कविता जनमुखी बन्नेक्रममा निकै फड्को अघिबढेको देखिन्छ। यस चर्चालाई लामो नपार्दै यसको उद्देश्यतिर लम्किन चाहन्छु।
कृतिभित्रका पर्यावरण चेतका कविताहरू : पर्यावरण हरेक जीवसित जोडिएको वातावरणीय अवस्था हो। वातावरण र जीवको अन्तरसम्बन्ध पर्यावरण हो। अहिलेको परिप्रेक्षमा पृथ्वीको पर्यावरणीय अवस्था प्रविधिजन्य तथा औपनिवेशिक विकासक्रमले क्षयहुँदै गइरहेको छ। जनसङ्ख्या वृद्धि र विलासिता शैलीको मानव आवश्यकताले पर्यावरणीय असन्तुलन भइरहेको छ। अहिले विश्वमा नै बढ्दो सहरीकरण, अव्यवस्थित, औद्योगिकीकरण, अत्यधिक रासायनिक मलको प्रयोग, विषादिको प्रयोग, वनविनाश आदि पर्यावरणीय असन्तुलनका कारण हुन्। पर्यावरण असन्तुलित हुँदा जैविक विविधता, विश्व तापमान र ओजन तहमा नकारात्मक असर पर्ने गर्छ। सृष्टिको सिर्जना निरन्तरताका लागि पर्यावरणीय सन्तुलन अपरिहार्य कुरा हो। हावापानी, खोलानाला, वनजङ्गल, वनस्पति, जैविक विविधता स्खलन हुँदा पर्यावरण सन्तुलन असन्तुलित बनेको हो। यसै पनि वातावरण संरक्षण, पर्यावरण सन्तुलन, जलवायु परिवर्तन र दिगो विकास एक्काइसौँ शताब्दीको साझा चिन्ता, चासो र चुनौती हो। मानवीय हर्कतले सन्तुलन बिग्रिएको छ तसर्थ सुधार्ने दायित्व पनि मानिसकै हो। पर्यावरणीय सन्तुलनका लागि माटो, वनजङ्गल, पशुपन्छीको संरक्षण, जलाधारको संरक्षण, पेट्रोलियम पदार्थको प्रयोग कटौती, विद्युतीय सवारी साधन प्रयोगमा बढावा, उद्योगधन्दामा प्रदूषणनिरोधी संयन्त्रको प्रयोग, नवीकरणीय उर्जाको प्रयोगमा जोड, ओजन तह संरक्षण, हरित गृह ग्यास उत्सर्जन व्यवस्थापन, पर्यावरण सन्तुलनका खातिर आधारभूत सर्तहरू हुन्।
समकालीन असमेली नेपाली कविताहरूमा पर्यावरण चेतको खोजी नै यस लेखको उद्देश्य रहेको कुरा सुरुमै भनिएको छ। कविले कविताबाट पनि जनमानसमा जागरुकता ल्याउन सक्छ। कविता केवल मनोरञ्जनका लागि मात्रै नलेख्रिेएर प्रकृति अथवा जीवकूलको हितमा पनि लेखिनुपर्छ। पहिला लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सिद्धिचरण श्रेष्ठको उर्वशी, लेखनाथ पौड्यालको तरुण-तपसी आदिमा प्रकृति वर्णन पाइएको थियो। त्यसो त रामायण, महाभारत आदिमा भरपुर प्रकृति वर्णन छ। तर त्यतिखेर अहिलेझैँ पर्यावरण खतरा थिएन। त्यतिखेरको प्रकृति स्वच्छ, निर्मल थियो। सायदै मानव कलाकारिताको सुरुवात मात्रै भएकाले होला। अहिले मानव कलाकारिता विज्ञान र प्रवृधिको जोडमा चरम सीमा पुगिसकेको छ। त्यसैले पर्यावरण खतरमा छ जीवकूलमाथि सङ्कटको कालो बादल देखिँदैछ। हरिभक्त कटुवालको “भित्री मान्छे बोल्न खोज्छ’’ (सन् १९६२) सङ्ग्रहभित्र रहेको ‘’यो यस्तै छ’’ शीर्षक कवितामा पनि पर्यावरण चेत पाइन्छ।
भारतको उत्तर प्रदेश अन्तर्गत चमोली जिल्लामा सन् १९७३ मा भएको चिप्को आन्दोलन पनि पर्यावरण चेतको नतिजा हो। जुन आन्दोलनमा २७ जना महिलाले प्राणाहुति दिएका थिए। पर्यावरण रक्षाका निम्ति यत्रो त्याग ? तर, हामीले पर्यावरण रक्षाका लागि त्यस त्यागको छेउछाउसम्म पुग्न सकेका छौँ र भन्ने आत्मविश्लेषणको समय पनि आएको जस्तो लाग्छ। अब यसलाई कविहरूले कसरी कवितामा ढाल्ने त्यो कविहरूको विषय हो। प्रकृति नै नरहेर हामी कसरी बाँच्ने ? तसर्थ हाम्रो पनि दायित्व बन्दछ। हामीले पनि सिर्जनामा प्रकृतिहितलाई ध्यान दिनुपर्छ। अध्ययनले भन्दछ अघिदेखि नै पर्यावरण चेतका कविता लेखिएका कुरा। तर, अहिले यसको व्यापकता बढेको छ। सायदै परिस्थितिको माग होला। हेरौँ त असमेली कविहरूले पर्यावरण चेत भएका के कस्ता कविताहरू लेखेका रहेछन्। मेरो अध्ययन र मसित भएका रचना सामग्रीको आधारमा समकालीन असमेली नेपाली कवितामा पर्यावरण चेत खोज्ने प्रयास गर्नेछु। यस प्रयासमा कसैको पर्यावरण चेत भएको कविता छुट्नु स्वाभाविक हो।
पर्यावरणलाई लिएर छुट्टै कविता कृति भन्दा भर्खरै (सन् २०२१) लोकार्पित भएको डा. देवेन सापकोटाको ‘परिश्रान्त पृथिवी’ हो। यो पर्या कविता सङ्कलन भारतीय नेपाली साहित्यको पहिलो सङ्कलन हो भनेर वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईले यसै पुस्तकको भूमिकामा उल्लेख गरेका छन्। विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष विजय हितानले यसै पुस्तकमा ‘देवेनले परिश्रान्त पृथिवी भनेको मानव सभ्यता सङ्कटमा पर्नु हो’ शीर्षक समीक्षात्मक टिप्पणीमा यो पुस्तकलाई इको राइटिङको ज्वलन्त उदाहरण हो भन्दै प्रस्तुत कृतिका कविताहरूलाई विकासनिर्माण, जैविक विविधता, पर्यानारीवादी (इकोफेमिनिज्म),परिवृत्तीय, प्रदूषण, जलवायु परिवर्तन, वन्यु र चोरीसिकार, धर्म र पर्यावरण, अन्य आदि भागमा इको राइटिङका विषयलाई तानेर वर्गीकरण गरी विस्तारपूर्वक चर्चा गरेका छन्। यस कृतिका जम्मै कविताहरू अध्ययन गर्दा कविताहरूले कुनै अञ्चल विशेषको मात्रै प्रतिनिधित्व नगरेर विश्व परिवेशलाई नै समेटेको छ भनी किटान गरेर भन्न सकिन्छ। प्रयोगवादी कविता कृतिका रूपमा लिनसकिने यस पुस्तकका कविताहरूले वातावरणीय समस्यालाई मात्रै खडा नगरेर यसको समाधानतिर पनि ध्यान केन्द्रित गरेको देखिन्छ। केही कविताहरू स्वैरकाल्पनिक छन्। कवितामा थुप्रै प्राविधिक शब्दहरू, विज्ञानका जटिल टर्महरू प्रयोग गरिएको छ। प्रत्येक कवितामै पर्यावरण चेत पाइन्छ। यस कविताकृति भित्र ४१ वटा पर्यावरणीय कविता छन्। कविता कृतिका जम्मै कविताहरू यस लेखमा राख्न मिल्दैन, लेख निकै लामो हुन्छ। तसर्थ, उदाहरणका लागि केवल मात्र दुइटा कविताहरू यहाँ राख्न चाहन्छु।
‘रुख’ कवितामा सापकोटाले रुखको पीडा र रुखमाथि मानवको अत्याचारलाई प्रस्तुत गरेका छन्। मानिसको अस्तित्व बचाउने रुखमाथि निर्मम तरिकाले धारिला बन्चराका घात बर्साएका छन् मानिसले। उन्नति, प्रगति र विकासको नारा लगाउने मानिस आज मात्तिएर आफ्नै विनाशको खाल्डो आफै खन्दैछ भन्ने अभिव्यक्तिद्वारा सारा विश्वका मानवलाई चेतावनी दिएका छन्।
‘’ ….तर
मेरो ध्वान्द्रोभित्र आश्रित पक्षीले थाहै पाउँदैनन्
किन काटिन्छ उनीहरूको आश्रयथलो यो बुढो रुख ?
पृथ्वीको तापक्रम नियन्त्रणमा व्यस्त हामीले
जान्दैनौँ किन बर्सिन्छन् हाम्रा डँडाल्नामा
धारिला बन्चराका निर्मम घातहरू।
भूमिष्ठ गिँडबिचका काठेऔँठीहरूले
केवल उघारिरहन्छन् निन्याउरा आँखाहरू
निर्निमेष।
विकासे अभिगमनको घोडामा चढेर
मात्तिएको छ मानिस।
किन बिर्सेको होला हाम्रो महत्व?
कि त बुझेको छ, तर वास्तै नगरेको ?’’ (रुख, पृष्ठ-७५, ७६)
जीवश्रेष्ठ भनी हाँक लगाउने मानिसलाई आतङ्ककारीको ताँतीमा राख्नमा पनि कवि देवेन सापकोटा पछि हटेका छैनन्। तिहार मनाउँछ, फुर्तिमा रमाउँछ मान्छे। झिरझिरे, फुलझाडी, रकेट बम आदि सल्काएर वातावरण नै धुवाँ धुवाँ पार्छ। मानिसको कर्तुतको पनि सीमानै छैन। विस्फोट र विषाक्त धुवाँले चरा-चुरङ्गी अथवा जीवकुलमा नकारात्मक प्रभाव पार्नसक्छ भन्ने सोच उसमा आएकै छैन। कपर, जिङ्क, लिड आदिको मिक्षित धुवाँ सुन्दर वसुन्धराका लागि क्षतिकारक हो भनेर सोच्ने समय नै छैन मान्छेको। तैपनि आफैलाई जीवश्रेष्ठ भनी घोषणा गर्दछ भन्ने जोडदार व्यङ्ग्य निम्न उल्लेखित अभिव्यक्तिले पुष्टि गर्दछन्।
‘’साथी,
तिमीले विस्फोटमा छोडेका
कपर,जिङ्क, लिड यावत धुवाँले
प्रदूषित पारी हावापानी
गराउँछ अम्लीय वर्षा
छिया-छिया पार्न
हरित सुन्दर वसुन्धरा।
अब भन त साथी
के गुणले तिमी जीवश्रेष्ठ हौ ?
अनि
के कारणले तिमी आतङ्ककारी होइनौ ?’’ (जीवश्रेष्ठ मानिस ??, पृष्ठ-१३४)
वरिष्ठ कवि इन्द्रकान्त कार्कीको मेरा ‘दिव-सहस्राब्दका कविताहरू’ (सन् २०१४) सङ्ग्रहको ‘नाता-मान्छे र पृथ्वीको’ शीर्षक कवितामा पर्यावरणप्रति जागरुक देखिन्छन् कवि। मानिसको कर्तुत नै हो जताततै प्रदूषण थुपारेको छ। अनि स्वच्छ, निर्मल परिवेशमा प्रदूषणको विष छरिदिएको छ। उन्नति र प्रगतिको शिखरमा पुग्ने मान्छे बन्न सकेन असल मान्छे। केवल विनाशको हतियार लिएर सुन्दर पृथ्वीलाई रक्ताम्मै पार्न लागेको छ। पर्यावरण ध्वंश गर्न लागेको छ। हेरौँ त कविताका केही हरफहरू-
‘’….प्रदूषणहरू उत्पादन गरेर
फैलाइरह्यौँ पृथ्वीभरि
पृथ्वीको पञ्चतत्वमा
कालकूट विष दियौँ छरी।
बन्न सकेनौँ शान्त सौम्य मान्छे
सभ्यताको शिखरमा पुगेर पनि
सृष्टि विनाशक हतियार दागेर
रगताम्य पारौँ पृथ्वी घरिघरि।‘’ ( पृष्ठ-५५)
प्रतिष्ठित कवयित्री डा. इन्दुप्रभा देवीको काव्यकृति ‘’सपनाको जरो पहिल्याउँदै’’(सन् २००७) मा पनि पर्यावरण चेत भएका कविता पाइन्छन्। रासायनिक विषादि, मलहरूले आज खेतको उर्वरता शक्ति घटाउँदै लगेको छ। अनि ती खेतहरू आज मानिसकै कर्तुतले गर्दा मर्दैछन् भनी ‘’प्रसङ्ग : खेत’’ भन्ने कवितामा यसरी गुनासो पोखेकी छन् –
‘’…जसको निम्ति धारण गर्थे अमृत-अन्न
आज तिनीहरूकै हातमा मर्दैछन्
नारीजस्ता खेतहरू।‘’ ( पृष्ठ-११)
कवि अञ्जन बासकोटाले पनि आफ्नो कविता कृतिमा पर्यावरण चेतलाई ठाउँ दिएका छन्। उनको कविता कृति ‘’आत्मानुसन्धान’’ (सन् २०२१) को सोही शीर्षक कवितामा पर्यावरणप्रति कविको सोच प्रष्टिएको छ। जीव श्रेष्ठको अहङ्कारको चुर्लुम्म डुबेको मान्छेले आफ्नोलागि खाल्डो खनेको थाहा पाएर होला अहिले प्रकृति सन्तुलन मात्रै धरतीले राख्न सक्ने नत्र भने विनाशको भुमरीमा फस्ने समय समागत छ भन्ने प्रसङ्गलाई कविले यसरी कवितामा व्यक्त गरेका छन् –
‘’….हे अहङ्कारी मानव-
आजको परिवेशले सायदै शिक्षा दियो
प्रकृति-प्रवृत्तिको समसर्गले मात्र धरतीको सन्तुलन हुन्छ।‘’ (पृष्ठ-२०)
कवि कृष्णनील कार्कीको कविता कृति ‘’समयको भाग्यरेखा’’(सन् २०१९) मा पनि पर्यावरण चेत रहेको कविता एउटा पाइन्छ। ‘’हामीलाई पनि बाँच्ने मौकादेऊ’’ शीर्षक कवितामा प्रकृतिले मानव जातिसमक्ष अतीतमा अघि स्वच्छ, निर्मल वातावरण थियो भनेको छ। स्वच्छ पर्यावरणमा प्रकृतिसाथै जीवकूल पनि रमाएको थियो। प्रकृति र जीवकूलको मधुर सम्बन्ध थियो। तर आज विज्ञान र प्रविधिले पर्यावरणको मुटु चिरेर उन्नति र प्रगतिको ढोल बजाएको छ। त्यसैले हामीलाई पनि बाँच्नदेऊ भन्दै गुहार लगाउन प्रकृति बाघ्य भएको छ। यहाँ कविताको एकांश प्रस्तुत गरिएको छ-
‘’….हामीलाई पनि बाँच्ने मौका देऊ
हामीलाई त्यो अतीत फर्काइदेऊ
जुन अतीतमा-
स्वच्छ भावना थियो
निर्मल वातावरण थियो
सबै सबैका निम्ति बाँचेका
दु:ख-सुख सधैँ हाँसेका
एक-आपसमा साइनो गाँसेका
सम्प्रीतिको गीत गाई नाचेका
जीवश्रेष्ठ हे जीवश्रेष्ठ
हामीलाई पनि बाँच्ने मौकादेऊ
हामीलाई त्यो अतीत फर्काइदेऊ।‘’ (पृष्ठ- ५३)
प्रकृतिबाट बिरुवालाई खोसेर बनसाइ बनायो मान्छेले। अकास छुने रहर, फल्ने-फुल्ने-मौलाउने रहर, बताससँग झुल्ने, घाम-वर्षासँग लुकाचोरी खेल्ने रहर, पुतली-चरीसँग हाँस-खेल गर्ने रहर, बढ्दा हाँगा, आकार-आकृतिलाई खुम्च्याएर कोठाको शोभा बढाउने बनायो मान्छेले। सर्कसको जनवरझैँ व्यवहार भयो, इच्छा-अनिच्छाको हत्या गरी बनसाइको परिचय जबर्जस्ती झुन्डाइदियो मान्छेले। एउटा बनसाइ गरेको पिपलको बिरुवाको पीडालाई कवयित्रीले कवितामा उतारेकी छन्। बिरुवाले बारम्बार अनुरोध गर्दछ रसायनिक श्रृङ्खल फुकाइदिन, अकास छुने रहरलाई पूर्ण गरिदिने बिन्ती गर्छ। कवयित्री निरु शर्मा पराजुलीको ‘’भोकमा कोरिएका शब्दहरू’’ (सन् २००८) को ‘’बनसाइ’’ शीर्षक कवितामा पर्यावरणको चेत यसरी पाइन्छ-
‘’फुकाइदेऊ मेरा शरीरबाट
रसायनिक श्रृङ्खल
मलाई हुर्कनदेऊ
छुनदेऊ मलाई मेरो आकाश
देऊ मेरो जन्मस्थान, जग्गा, जमिन
देऊ मलाई मेरो आकाश
फुल्नदेऊ फक्रनदेऊ
छर्नदेऊ मलाई मेरो हृदयको सुबास…..।‘’ (पृष्ठ-६२)
‘’आमा ! पूरा भयो तिम्रो चाहना’’ (सन् २०१३) कविता कृतिमा कवि बोगीराम गोर्खा भण्डारीले पनि पर्यावरण चेतको कविता लेखेको पाइन्छ। उनको ‘’विश्वायनको विडम्बना’’ कवितामा कविले अघिकै वातावरण ठिक थियो भन्दै निरोगी मान्छेहरूको आयु लामो भएको, स्वच्छ वातावरणमा स्वच्छ विचारको भरमार, मल, विषादिरहित तरकारीहरू र अन्य खाद्यान्नले गर्दा बिमारको पनि कमी थियो। सबै चोखोनितो र सुन्दर संसार थियो। तर अहिलेको वातावरण नै मानिसको लागि प्रतिकुलसिद्ध भएको हामीलाई नै थाहा लागिसकेको छ। तल कविताको केही हरफहरू प्रस्तुत गरिएको छ-
‘’उत्तम थियो बरु पुर्खाकै पालामा
लामो आयु, जडी बुटी बौद्धिक सिद्धमा,
चोखोनितो, शुद्ध पौष्टिक सबै भागमा
भक्ति विश्वास, शक्ति साहस सबै जनामा।‘’ (पृष्ठ-४०)
कवियत्री अनुपमा कट्टेलले पनि आफ्नो काव्य कृति ‘’शब्दहरू मेरा घाम हुन्’’ (सन् २०२०) को ‘’पर्यावरण, सेर्भन सुजुकी आदि’’ शीर्षक कवितामा पर्यावरण चेत भएको थाहा लाग्छ। आधुनिक सभ्यताको सुरुमा पर्यावरण स्वच्छ थियो। अरण्य, खोला, चरा, जनावर आदि आफ्नै धुनमा रमाएका थिए। मानिस मानिस नै थियो। जीवश्रेष्ठबाट जनावर भएको थिएन भन्ने अभिव्यक्ति यस कवितामा पाइन्छ। उक्त कविताको काव्यांश यहाँ प्रस्तुत गरिएको छ।
‘’… आधुनिक सभ्यताले जहाँबाट यात्रा सुरु गरयो
त्यहाँ अरण्य थियो
खोला थिए
चरा थिए
जनावर थिए
जनावरबाट जीवश्रेष्ठ भएको मानिस नै थियो
ऊ जनावर भइसकेको थिएन।‘’ (पृष्ठ-६९)
कवयित्री निलीमा आचार्यको कविता कृति ‘’परिवर्तन र अन्य कविता’’ (सन् २०२१) मा पनि पर्यावरण चेत पाइन्छ। ‘’नयाँ युगको निर्माण’’ कवितामा पनि पर्यावरणप्रति सचेत देखिन्छन् कवयित्री। पर्यावरणमाथि ठुलो एउटा जमातले हमला गर्दैछ दिन प्रतिदिन। प्रगतिशील समाजको कल्पना र निर्माणमा व्यस्त यस समाज सुन्दर संसारलाई मरुभूमि बनाउने तरखरमा छ। जङ्गल फाँडेर महल निर्माण बनाउनेहरूलाई कडा प्रहार गरेको छ यस कविताले। कविताको केही अंश यहाँ प्रस्तुत गरिएको छ-
‘’…..एउटा ठुलो मास्टर माइन्ड छ यो दुनियाँमा
जसको स्वामित्व बढ्दैछ अरू माथि
जसले सधैँ प्रगतिशील समाजको कल्पना गर्छ
थिचोमिचो गर्छ मानवेतर प्राणीलाई
प्रगतिको कामना गर्दागर्दै मरुभूमि निर्माण गर्छ
अरूको आश्रयस्थल ध्वंस पारेर आफू निर्माण गर्छ महल।‘’ (पृष्ठ- ६०)
कृष्णनील कार्कीको सम्पादनामा प्रकाशित ‘’समकालीन असमेली नेपाली कविता’’ (सन् २०२०) सङ्कलनमा पनि पर्यावरण चेतका कविताहरू समावेश भएको पाइन्छ। यस सङ्कलनमा रहेको कवि मिलन बोहराको कविता ‘’पृथ्वीहन्ताको फाँसीमा’’ पर्यावरण चेतले जनमानसलाई सचेत गराएको पाइन्छ। धुवाँले कार्वन-डाइ अक्साइड बढाउँछ। अधिक कार्वन-डाइ अक्साइड जीवकूलका निम्ति क्षतिकारक हो। त्यसैले कवि मन तड्पिँदै सबै धुवाँ छोड्ने चिम्नी, मसिनहरू र यसका पछि रहेका खलनायकहरू सखाप होस् भन्ने अभिव्यक्ति यस कवितामा पोख्छन्।
‘’…मेरा कविताहरू सुनामी भएर
सोत्तर पारिदियोस्
पृथ्वीका सबै धुवाँ छोड्ने चिम्नीहरू
सबै मसिन र इन्जिनहरू
अनि भूगर्भित गरोस्
सबै पृथ्वीहन्ताहरू।‘’ (पृष्ठ-२३२)
‘’समकालीन असमेली नेपाली कविता’’ सङ्कलनको अर्को एउटा कवितामा पनि पर्यावरण चेतको आभास पाइन्छ। कवि पूर्ण खडकाको कविता ‘’आज विश्व रुन्छ’’ मा मानव कार्यको परिणाम आज विश्वले भोगिरहेको छ भन्दै कवितामा दुखेसो पोखेका छन्। आफ्नै सुविधाका लागि निर्मित सामग्री र परिवेश नै आज मानिसको काल बनिएर खडा भएको छ भन्ने अभिव्यक्ति कवितामा यसरी पोखेका छन्।
‘’…विध्वंशी मानवकार्यले : पर्यावरण रुन्छ
विज्ञानको द्रूत गतिले : भयातुर खगोल रुन्छ
आपसमै गर्जदा बादल दु:खी भै : आकाश रुन्छ
भाइ-भाइमै भुँवरी छाल सुनामी : सागर रुन्छ
आफ्नै आविष्कारले असुरक्षित : मानव आफै रुन्छ
मानिस मानिसकै रक्तपातले : आज विश्व रुन्छ।‘’ (पृष्ठ-७८)
फेसबुकका पर्यावरण चेतका कविताहरू : असमेली कतिपय कविहरूले सोसिएल साइटमा पनि पर्यावरण चेत भएका कविताहरू लेखेको पाइन्छ। सबै कविताहरू यहाँ राख्न मिल्दैन, अथवा खोजेर पनि भेटिँदैन। फेसबुकमा पाइएका केही कविताहरूको चर्चा यस लेखमा ल्याउने प्रयास गर्दैछु। कविताहरू कविहरूकै फेसबुक आइडीबाट सोझै चर्चामा ल्याइएको छ।
प्रतिष्ठित कवि मोहन सुवेदीको फेसबुकमा प्रकाशित ‘’रुख’’ कविताले पनि पर्यावरण बोलेको छ। कयौँ पर्षअघि रोपेको बिरुवा आज रुख भएर चराहरूको घर बनेको छ। खेतालोहरूको विश्रामको थलो भएको छ। गोठालाहरूलाई पनि रुखले मनोरञ्जनको खोराक पस्किदिएको छ। रुखको हाँगामा बसेर कान्छीहरूलाई जिस्काउँदै प्रेम-प्रीतिको सागरमा डुब्ने मेलो भएको छ। यति सुन्दर उपकारी रुखले पनि धर पाएन। रुख ढालेर आस्थाको पृथ्वीलाई सखाप पार्ने मानिसको क्रुर प्रवृत्तिलाई कवितामार्फत सुन्दर अभिव्यक्तिले प्रस्टाएका छन् कविले।
‘’एकदिन ठुलो हुन्डरीले लडायो त्यो रुख
टुक्रिए हाँगाहरू, झरे जलमल पातहरू
सुक्दै गए माटो अँगालेका जराहरू
जहाँबाट सधैँ चिचाउँथ्यो जीवनको मादकता
रुखहरू त्यसरी नै ढल्दछन् मनको क्रुरताले
अनि मनसितै ढल्दछ आस्थाको पृथिवी….।‘’ (रुख, २८ जुन, २०२१)
चर्चित कवि रुद्र बरालको ‘’प्रियतमासँग एउटा सेल्फी’’ कवितामा पर्यावरण दिवसमा केवल सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्न बिरुवा रोपिएको गुनासो पोखिएको छ। पर्यावरण प्रेमीको पोजमा उभिएर सेल्फी खिच्ने अनि फेसबुकमा पोस्ट गर्ने बितिक्कै बिरुवाप्रतिको दायित्व सकिएको स्वार्थी चरित्रलाई यस कवितामा चित्रण गरिएको छ। बिरुवा रोपेर बिर्सिएकाले फेरि अर्को वर्षको पर्यावरण दिवस मात्रै सम्झिन्छ। अनि फेरि फोटो खिच्न तत्पर हुन्छ। तर, उसले त्यहाँ बिरुवा भेट्तैन, भेट्छ अक्सिजेनका लागि तडपिएका आफ्नै शाखा-सन्तानहरू।
‘’तिमी त्यहाँ थिइनौ
थिए केवल पिठ्युँमा अक्सिजेनको सिलिन्डार बोकेर हिँडेका
कृशकाय मानिसहरू।‘’ (प्रियतमासँग एउटा सेल्फी, ५ जुन, २०२१)
कवयित्री पूजा उपाध्यायका कविताहरूमा पनि पर्यावरण चेत पाइन्छ। उनको ‘’रुख’’ कवितामा यस चेतको आभास उपलब्धि गर्न सकिन्छ। आज प्रकृतिमा रुखको उपस्थिति घट्दै गएको अनि मानिसका मोबाइल, शब्द, कविता र भर्चुअलमा मात्रै रुख झाँगिएको प्रसङ्गलाई तानेर दह्रो व्यङ्ग्य प्रहार गरेकी छन् कवयित्रीले।
“”ए रुख
आज तेरो दिन
मोबाइल मोबाइलमा तँ
हात हातमा तँ
शब्दमा तँ
कवितामा तँ
प्रकृतिमा मात्रै नभएर
अहिले भर्चुअलमा पनि तँ।“ (रुख, ५ जुन २०२१)
कवि नैना अधिकारीले पनि पर्यावरण चेतलाई आत्मसात गर्दै कविता कोरेकी छन्। उनको एउटा रुखः एउटा कविता शीर्षक कवितामा रुखको वेदनालाई आफ्नो सपनासँग तुलना गरेकी छन्। रुख मर्नु भनेको पर्यावरणको करोडौको घाटा हो भनेकी छन् कवियत्रीले।
रुख मर्नु भनेको
पात मर्नु हो
फूल मर्नु हो
मानिसको सुरक्षा मर्नु हो
पर्यावरणको घाटा हो करोडको घरमा। (३ जुलाई २०२१)
निष्कर्ष : अहिले पर्यावरणको स्थिति देखेर सर्जकहरू पनि चिन्तित भएर पर्यावरण चेत भएका सिर्जनाहरू कोर्नमा व्यस्त छन् , तर यस ताँतीमा सङ्ख्यागत कमी देखिएको छ। असमेली कविहरूले पनि पर्यावरण चेतका कविताहरू अघिदेखि नै कोर्न थालेका हुन् तर, यस चेतमा अहिले वृद्धि आएको देखिन्छ। यो मानवहितका निम्ति शुभ सङ्केत हो। अझ कोरिनुपर्छ। जन जनलाई सचेत बनाउनुपर्छ। लेख्नु र गर्नुमा फरक देखिनु हुँदैन। सर्जकहरूले पर्यावरण चेतलाई केवल सिर्जनामा मात्रै सीमित राखेर हुँदैन कार्यान्वयनका बारेमा पनि सोच्नुपर्छ। आफूबाटै सुरु गर्दा यसको सकारात्मक प्रभाव छिटै अरूमा पनि पर्ने सम्भावना बढी हुन्छ। नत्र, सिर्जनामा हरियाली नै हरियाली अनि वास्तव क्षेत्र विनाशको धरातल बन्नु बढी समय लाग्दैन। बनिनैरहेको छ। उन्नति, प्रगति र विकासको नाममा। मान्छेको मोजमस्ती र फाइदाका लागि। त्यसैले पर्यावरण सम्बन्धी सोसियल साइटमा पाइएका रचनाहरू बढी मात्रामा सियर हुनुपर्छ। किनकि हामी कुनै न कुनै, कसैको न कसैको पोस्टहरू सियर गरिनैरहेका हुन्छौँ। तसर्थ पर्यावरण बचाउने, आफू बाँच्ने पोस्टहरू किन सियर नगर्ने ? गरौँ त। एउटा जनजागरण ल्याउनुपर्छ। काव्यगोष्ठीहरूमा पनि पर्यावरण चेतका कविताहरू पढिनुपर्छ। कार्यपत्रहरूमा पनि यसखाले विषयले ठाउँ पाउनुपर्छ। सङ्गोष्ठीहरू आयोजन गर्नुपर्छ। बिहे, जन्मदिन आदिमा बिरुवा उपहारस्वरूप दिने चलन ल्याउनुपर्छ। लौ, कविहरू अबका दिनमा पर्यावरण चेतका कविताहरू कोरेर, आफू पनि पर्यावरणका लागि वास्तव धरातलमा केही गर्ने मनसायले पर्यावरण बचाउने यज्ञमा चरु अथवा सुरो हुनुहोस् त। आफू पनि बाचौँ, पर्यावरण पनि बचाओ।
सन्दर्भ सूची :
- समकालीन असमेली नेपाली कविता, सम्पा. कृष्णनील कार्की
- हरिभक्त कटुवाल रचनावली, मुख्य सम्पादक-डा. दैवकी देवी तिमसिना
कृष्णनील भाइको लेखन अघि बढ्दैछ। असममा नेपाली समालोचकहरूको कमीलाई केही मात्रामा भए पनि पूरा गर्नुहुँदैछ। अघि बढ्नुहोस्।
हार्दिक धन्यवाद, सर ।
हार्दिक धन्यवाद छ सर ।
प्रखर बौद्धिकताको प्रतिफलन्
हार्दिक धन्यवाद, सर ।
धेरै सुन्दर समीक्षा।