पर्याकविता : सृष्टिमाथिको सम्यक दृष्टि
|कतै उकालो चढेर चुली टेक्न कस्सिन्छ
कतै खोँच झरेर छहरोसँग मस्किन्छ
कतै बेँसी, उपत्यका र समथरमा
फैलिन्छ भिजाउदै खेतबारीका गरा ।
ऊ हो
उडिरहेको हावा
बर्सिरहेको पानी
र टल्किरहेको घाम ।
कुनै एउटा बस्तुसँग मात्र सम्बन्धित छैन ऊ ।
ऊ माटो पनि हो गोरेटोको
ऊ ढुङ्गो पनि हो भीरेटोको
ऊ दूबो हो पहरोको
ऊ इन्द्रेणी हो छहरोको ।
फैलिरहेको ब्रह्माण्ड
तारामण्डल
ग्रह, उपग्रह , क्षुद्रग्रह
सबै उही नै हो ।
जडसँग मात्र पनि सम्बन्धित छैन ऊ
प्राणीसँग मात्र पनि सम्बन्धित छैन ऊ
शक्तिसँग मात्र पनि सम्बन्धित छैन ऊ
चेतनासँग मात्र पनि सम्बन्धित छैन ऊ ।
अनन्त ब्रह्माण्डका अगणित पिण्डहरू मध्येको
एउटा मझौला पिण्ड भित्र मात्र पनि
साढेतेह्र लाख थरीका अगणित प्राणीहरू !
सबातीन लाख थरीका अगणित वनस्पति !
प्राणीमा वनस्पति निर्भर
वनस्पतिमा प्राणी निर्भर ।
क्या गजबको सृष्टि !
सृष्टि भएरै जन्मेको छ हाम्रो दृष्टि
दृष्टि भएरै देखिएको छ यो अनुपम सृष्टि ।
यसबेला
यसअघिभन्दा अझ बढी
मान्छेको सम्यक् दृष्टि खोजिरहेको छ सृष्टिले ।
जल होस् कि थल
जीव होस् कि जङ्गल
आकाश होस् कि अन्तरीक्ष
सबैको अस्तित्व सुरक्षित हुनैपर्छ ।
खासगरी मान्छेमा चाहिएको छ यस्तो सम्यक दृष्टि
जसको अभावमा
धरामा हुनेछ कुदिनको वृष्टि
जीवको हुनेछ विनाश
र चिहान हुनेछ
हामी सबैको सामूहिक निवास ।
हार्दिक वधाई प्रिय कवि वाउसेजी
Thank you dear bro.